
१७ फागुन काठमाडौं । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपति डा. रामवरण यादवबाट नयाँ संविधान जारी गरिनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति एमाले नेताहरु आक्रोशित बनेका छन् । पौडेलको अभिव्यक्तिबारे शनिबार दिउँसो बस्ने एमाले केन्द्रीय कमिटीको बैठकमा समेत छलफल हुने भएको छ ।
‘रामचन्द्र पौडेलको भनाइ कांग्रेस र एमालेवीच सम्पन्न सातबुँदे सहमतिको विरुद्धमा छ, एमाले केन्द्रीय नेता एवं सभासद अग्नि खरेलले अनलाइनखबरसँग भने, ‘पौडेलको यो भनाइ अन्तरिम संविधान र संविधानसभा नियमावलीसमेतको विरुद्धमा छ ।’
कांग्रेस उपसभापति पौडेलले शुक्रबार नेपालगञ्जमा आयोजित डेमोक्रेटिक लयर्सहरुको कार्यक्रममा मन्तव्य राख्ने क्रममा नयाँ संविधान सुवास नेम्वाङले होइन, राष्ट्रपतिले जारी गर्नुपर्ने बताएका थिए ।
संविधान राष्ट्रपतिबाटै जारी हुने गरी नियमावली बनाइनुपर्ने नेता पौडेलले बताएका थिए ।
संविधानसभामा राष्ट्रपतिको भूमिका हुँदैन
‘संविधानसभामा राष्ट्रपतिको कुनै भूमिका हुँदैन, संविधान राष्ट्रपतिले बनाउने होइन, संविधानसभाले हो, खरेलले अनलाइनखरसँग भने, ‘संविधानको विधेयकमा सभासदले हस्ताक्षर गरेपछि संविधानसभा अध्यक्षबाट त्यसमा हस्ताक्षर गरेर प्रमाणीकरण गरिन्छ र राष्ट्रपतिले सार्वजनिक समारोहमार्फत् त्यसलाई सार्वजनीकरण मात्रै गर्ने हो ।’
एमाले नेता खरेलले भने- ‘राष्ट्रपतिबाट संविधान जारी गर्ने प्रस्ताव कांग्रेसका नभएर रामचन्द्रजीको व्यक्तिगत मात्रै हुन सक्छ, यो उहाँको व्यक्तिगत विचार मात्रै हो भने पनि आपत्तिजनक छ । सातबुँदे सहमतिविपरीत छ । यसबारे पार्टीको केन्द्रीय कमिटीमा छलफल हुन्छ ।’
0 comments:
Post a Comment