सञ्चालकलाई हिरासत मुक्त गराउन प्रहरीलाई नेताको दबाव
राजकुमार श्रेष्ठ
१७ फागुन, काठमाडौं । आमाघरबाट ३४ बालबालिकालाई ‘उद्धार’ गरियो । दिलशोभामाथि लागेका आरोपहरु छानविन भइरहेको छ, छानविनपछि नै सबै तथ्यहरु खुल्दै जालान्ं । तर, दिलशोभाको आमा घरबाट उद्धार गरिएका ३४ बालबालिका कहाँ छन् भनेर खोज्दै जाँदा केही थप घटना भेटिएका छन्, जसबाट नेपाली वालवालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठेका छन् ।
दिलशोभा श्रेष्ठको आमाघरमा रातारात छापा मारेको जिल्ला प्रशासन कार्यालयले नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २४ घण्टाभित्र बालबालिकाको उद्धार गर्नुपर्ने भनिएको ‘हृयापी होम’लाई भने त्यसै छाडेको भेटिएको छ । तीनजना बालकलाई बन्धक बनाएको अवस्थामा उद्धार गरेर प्रहरीले ह्याप्पी होमका सञ्चालकलाई पक्राउ गरी थुनामा राखिरहेको छ ।
वालवालिकाको आश्रम खडा गरेर मानव बेचविखन र शरीर बन्धक बनाएको प्रहरीले सञ्चालकमाथि गम्भीर आरोप लगाएको छ । तर, सञ्चालकलाई पक्राउ गरेको दुई सातासम्म ८३ बालबालिकालाई उद्धार गर्न कुनै पहल भएको छैन । ह्याप्पी होममा रहेको ती वालवालिकाको अवस्था आमाघरको भन्दा दयनीय रहेको बुझिएको छ ।
दिलशोभाको आमा घरमा प्रहरीले छापा मार्नुभन्दा झण्डै २ साताअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले धापाखेलस्थित हृयापीहोमका सञ्चालक विश्वप्रताप आचार्यलाई पक्राउ गरेको हो । उनले बन्धक बनाएका तीन बालकको समेत उद्धार गरिएको छ । प्रहरी हिरासतमा रहेका आचार्यमाथि मानव बेचविखन, शरीर बन्धक जस्ता जघन्य अपराध गरेको मुद्दा लगाइएको छ । तर, आचार्यले आफू हिरासतमुक्त हुनका लागि नेताहरु मार्फत प्रहरीलाई चर्को दबाव दिइरहेको स्रोत बताउँछ ।
यसरी गरियो अनुसन्धान
आचार्यले विभिन्न प्रलोभन देखाएका हुम्ला, जुम्ला लगायतका विकेट क्षेत्रबाट समेत बालबालिका जम्मा पारेका छन् । संखुवासभा मकालु-६ नवगाउँका स्थानीयले आफ्नो बालबालिकालाई भेट्न नदिएको उजुरी परेपछि सीआईबीले छानविन थालेको थियो ।
अनुसन्धानका क्रममा पेम्बा नुर्वु शेर्पा र लाप्पा डोमा शेर्वालाई धापाखेल मिलन वस्तीस्थित पारस पोखरेलको घरमा लुकाइराखेको अवस्थामा र फूर्लाम शेर्पालाई सडक किरानमा लुकाइराखेको अवस्थामा भेटाएपछि सीआईबीले उनीहरुको उद्धार गरी सञ्चालकलाई पक्राउ गरेको थियो ।
स्याउ दिँदा दसैंको सम्झना
हृयापी होममा ८३ जना बालबालिका छन् । सानो पाइलाले सीआईबीलाई बुझाएको अध्ययन प्रतिवेदनअनुसार हृयापी होममा रहेका बालबालिकाहरुको अवस्था निकै जोखिमयुक्त छ । ‘उद्धार गरिएका बालकलाई स्याउ दिँदा आज दशैं हो अंकल भनेर सोधे । किन भन्दा त्यहाँ त दशैं तिहारमा मात्र दिन्थे भने’ प्रतिवेदनलाई उदृत गर्दै स्रोतले भनेको छ-’बालबालिकाले तरकारी देख्न पाएका छैनन् । उनीहरुलाई पीठोको खोलेको भरमा राखिएको छ ।’
अचार्यले आफ्नो सन्तानको हेरचाहका लागि हृयापी होममा राखिएका पाँच जनालाई काममा लगाएको र उनीहरुलाई शारीरिक यातना समेत दिने गरिएको छ । ‘बालबालिकालाई एक अर्कालाई पिट्न लगाउँथे’ उद्धार गरिएका बालबालिकाको बयानमा समेत भनिएको छ-’आचार्यको पत्नीले पाइपले पिट्थे ।’ हृयापी होममा भएका बालबालिकालाई परिवारसँग भेट्न दिइएको छैन भने त्यहाँ भएका बालबालिका बेचविखन भएको हुन सक्ने आशंका समेत गरिएको छ ।
बालबालिकाको उद्धारमा प्रशासनले चासो दिएन
हृयापी होमबारे झण्डै सात महिना अनुन्धान गरेको गैरसरकारी संस्था सानो पाइला र केन्द्रीय अनुसन्धान व्यूरोले २४ घण्टाभित्र हृयापी होममा रहेका बालबालिका उद्धार गर्न आग्रह गरिएको भए पनि जिल्ला प्रशासन कार्यालयले कुनै चासो दिएको छैन ।
‘आमाको घरभन्दा कयौ गुणाबढी जोखिममा बालबालिका छन् भन्ने अनुसन्धानले देखाएको छ’ एक अधिकारी भन्छन्-’तर, जिल्ला प्रशासनले कुनै चासो दिएको छैन । कहाँबाट दबाव आएको छ, हामीलाई थाहा छैन ।’ स्रोतका अनुसार आचार्यलाई पक्राउ नगर्न भन्दै सीआईबीलाई राजनीतिक दलका नेताबाट समेत दबाव आएको थियो । यद्यपि अनुसन्धान प्रक्रियामा रहेको भन्दै अधिकारीहरुले दबाव दिने नेताहरुबारे भने अहिले नै केही बताउन अस्वीकार गरे ।
यो पनि पढ्नुहोस्
सिडियो सा’प ! दिलशोभाका छोराछोरी के खाएर बाँच्छन् ?
सिडियो सा’प ! दिलशोभाका छोराछोरी के खाएर बाँच्छन् ?







0 comments:
Post a Comment