३ चैत, सल्यान । नागरिकता बनाएपछि एक सय रुपैँया पाइने भएपछि सल्यानमा नागरिकता बनाउनेको संख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले दलित विकास समाज सल्यानसँग मिलेर जिल्लाका विभिन्न स्थानमा नागरिकता वितरण गरिरहेको छ भने प्रोत्साहन स्वरुप एक सय रुपैँया पनि दिने गरेको छ ।
दलित गैर सरकारी संस्था महासंघको सहयोगमा दलित विकास समाज सल्यानको नेपालका पहाडि र हिमाली जिल्लाहरुका नागरिकता विहिन व्यक्तिहरुलाइ सहयोग परियोजना मार्फत प्रोत्साहन भत्ता दिन थालिएको हो । जिल्लाका विभिन्न स्थानमा शुरु भएका शिविरमा पुगेर नागरिकता बनाउनेलाई यो सुविधा दिइनेछ ।
जिल्लाका हरेक नागरिकलाई नागरिकता बनाउन सहज होस भनेर यस्तो अभियान थालिएको संस्थाका अध्यक्ष निमबहादुर नेपालीले बताए । जिल्लाका मार्के, कुपिण्डेदह, कजेरी, शिद्देश्वरी, छाँयाक्षेत्र, खलंगा, काभ्रा, कारागिठि, लेखपोखरा, कोवांगझिम्पे लगायत आवश्यकता अनुसार जिल्लाभर यो अभियान संचालन गरिने उनले बताए ।
जिल्लाका धेरै नागरिकहरु रोजगारीको लागी भारतको कालापहाड जाने गरेको र नागरिकता सरकारी कामकाज परेमा मात्रै बनाउने गरेकाले नागरिकता नबनाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताए । हाल सम्म जिल्लाको रिम गाविसमा एकिकृत घुम्ति शिवीर संचालन भैसकेको छ भने अन्य ठाँउमा वाँकी छ ।
रिम गाविसमा संचालन भएको शिविरमा ५५ जना महिला सहित ८८ जना नागरिकता पाएका थिए, जसमा २८ जना दलित सहभागि थिए । नागरिकता वितरण टोलीमा अन्य कार्यालयले पनि सेवा दिइरहेका छन् ।
0 comments:
Post a Comment