काठमाडौ, फाल्गुन १७ - केही दिनयता रुघाखोकीले दुःख नदिएका वा घाँटी नखसखसाएका बालबालिका वा युवा वा बूढापाका भेट्न सजिलो छैन । कुनै बैठक वा जमघटमा कोही न कोहीले ख्याकखुक गरेकै हुन्छन् । यो तिनको दोष होइन ।
हिउँद सकिँदै गएको छ । तापक्रम दिनदिनै उकालो लाग्दै गएको छ । मौसमको यो परिवर्तनले रुघा, खोकी, घाँटीको खसखसजस्ता समस्यालाई निम्त्याइरहेको छ । बिहानबेलुका चिसो र दिउँसो गर्मी हुन थालेकाले यस्तो भएको हो ।
'हाच्छिउँले दुःख दिनु, नाकबाट पानी बग्नु, घाँटी खसखसाउनु रुघाको पहिलो लक्षण हो,' त्रिवि शिक्षण अस्पताल, जनरल प्राक्टिस र इमर्जेन्सी विभागका प्रमुख डा. प्रतापनारायण प्रसाद भन्छन्, 'यस्तो भए डराइहाल्नु पर्दैन । कुनै औषधि पसलेको लहैलहैमा लागेर एन्टिबायोटिक वा एन्टिहिस्टामिनिक औषधि खाइहाल्नु हुँदैन । झोल पदार्थ खाँदै आराम गरिरहे एक साताभित्र आफैं निको हुन्छ ।'
नेपालमा सामान्य रुघा लाग्दा पनि आफूखुसी एन्टिहिस्टामिनिक औषधि सेवन गर्ने गरिन्छ । त्यस्तो औषधि खाएपछि तत्काल अलिक सन्चो महसुस भए पनि अन्ततः सेकेन्डरी संक्रमणको सम्भावना बढ्ने डा. प्रताप बताउँछन् ।
सामान्यतः रुघाको उपचारमा एन्टिबायोटिक आवश्यक पर्दैन । रुघा भाइरसबाट हुने संक्रमण हो । एन्टिबायोटिक औषधिले भाइरसलाई छुँदैन । तर कहिलेकाहीँ रुघाका कारण कानको बीचमा वा पिनास हुने ठाउँमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । यस्तोमा भने एन्टिबायोटिक औषधि अत्यावश्यक हुन्छ । यसो भन्दैमा चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिकको उपयोग गर्नु भने हुँदैन ।
अमेरिकाको नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज -एनआईएआईडी) का अनुसार, रुघाको उपचार नहुनुको एउटा कारण के हो भने, यो समस्या दुई सयभन्दा बढी भाइरसको संक्रमणका कारण उत्पन्न हुने गर्छ । रिनो भाइरस रुघाखोकी उब्जाउने सबैभन्दा सामान्य कारक हो । रिनो भाइरसले विरलै गम्भीर रूपमा अस्वस्थ बनाउँछ । यो भाइरस सबै किसिमका रुघामध्ये ३० देखि ५० प्रतिशतसम्मका लागि जिम्मेवार मानिन्छ । यस्तै, आरएस भाइरसको संक्रमण वयस्कमा हल्का देखिन्छ भने बालबालिकामा कडा । यो भाइरसले बालबालिकाको तल्लो श्वास नलीमा गम्भीर संक्रमण उत्पन्न गर्न सक्छ ।
वयस्कलाई रुघा लाग्नुमा कोरोना भाइरस पनि १० देखि १५ प्रतिशतसम्म जिम्मेवार रहने एनआईएआईडीले उल्लेख गरेको
छ । तर, वयस्कलाई हुने २० देखि ३० प्रतिशतसम्म रुघाको कारण अनुसन्धानकर्ताहरूले अझै पहिचान गर्न सकेका छैनन् ।
रुघाखोकीको जीवाणु रहेको सतहलाई छोएपछि हात नधोई आपmना आँखा वा नाकलाई छँुदा वा यो जीवाणु सासको माध्यमले हाम्रो शरीरभित्र पुग्दा पनि संक्रमण हुने गर्छ । 'हात साबुनपानीले धोइरहनु र रुघाखोकी लागेकाहरूको संगत नगर्नु यो संक्रमणको जोखिमबाट बच्ने सबैभन्दा राम्रो उपाय हो,' डा. प्रताप भन्छन् ।
सामान्यतः संक्रमणको २/३ दिनपछि रुघाखोकीको लक्षण
देखिन्छ । यसले दुई दिनदेखि दुई सातासम्म दुःख दिन सक्ने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन -सीडीसी) को तथ्यपत्रमा उल्लेख छ । यस्तै, अधिकांश पीडित व्यक्तिहरू संक्रमण देखिएको ७ देखि १० दिनसम्म पूर्णतः निको हुने गर्छन् । डा. प्रतापको सुझाव छ— एक सातासम्म रुघा निको नभए र आफूले जटिलता अनुभव गरे चिकित्सकको सल्लाह लिनुपर्छ ।
बूढापाका, बालबालिका र रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई रुघाले बढी सताउने गरेको छ । रुघा लाग्दा वयस्कलाई सामान्यतः ज्वरो आउँदैन । बालबालिकालाई भने १०२ डिग्री फरेनहाइटसम्म ज्वरो आउन सक्छ । बालबालिकालाई सय डिग्रीभन्दा बढी ज्वरो आए, रुघाले सात दिनभन्दा बढी दुःख दिइरहे, कडा या असामान्य लक्षण देखिए चिकित्सकको सल्लाह लिनुपर्छ ।
'रुघासँगै तीव्र ज्वरो आए सिटामोल खान सकिन्छ,' डा. प्रताप भन्छन्, 'अन्य कुनै समस्या नभए पनि रुघाको लक्षण दुई साताभन्दा बढी समयसम्म रहिरहनुमा एलर्जी कारक हुन सक्छ ।' रुघाखोकीले बढी सताउने गरेका व्यक्तिले इन्फ्लुएन्जा भ्याक्सिन लगाउन सक्ने विज्ञहरू बताउँछन् । एलर्जी, मधुमेह, छाती र सासको समस्या भएका, अंग प्रत्यारोपण गराएका, रोग प्रतिरोधी क्षमता कम भएकाहरूले रुघाको मौसममा न्युमोकोक्कल भ्याक्सिन लगाए केही आराम पाउन सक्छन् ।
0 comments:
Post a Comment