Saturday, March 1, 2014

सुत्केरी हुँदा श्रीमान् अनिवार्य

sutkeri-
बैतडी, फाल्गुन १६ - यहाँ स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेले श्रीमान्लाई पनि सँगै लिएर आउनुपर्ने नियम बनेको छ । स्वास्थ्य कार्यालय बैतडीले कडाइका साथ यो नियम लागू गरिएको बतायो ।  
सुत्केरी हुँदाका बखत महिलाका अभिभावक स्वास्थ्य केन्द्रमा नहुँदा समस्या हुने गरेको थियो । 'समस्याको न्यूनीकरण गर्न र महिलाको पीडा अनुभूति गराउन यसो गरिएको हो,' स्वास्थ्यले बतायो । यहाँका अधिकांश क्षेत्रमा सुत्केरी हुँदाका बखत प्रायः एक्लै वा महिलाका साथमा मात्रै स्वास्थ्य केन्द्र पठाउने चलन छ । कार्यालयले आफ्नो निर्णय कार्यान्वयनमा ल्याउन सार्वजनिक सूचना नै जारी गरिसकेको छ । श्रीमान् घरमा नभएका महिलाहरूको हकमा भने जिम्मेवार पुरुष अभिभावक ल्याउन अनिवार्य गरिएको छ ।
सुत्केरी हुन आएकी महिलामा जटिलता आउने, रगत नपाएर मृत्यु हुने र स्याहार गर्न पनि समस्या हुँदै आएपछि सर्वपक्षीय भेलाले निर्णय गरेको स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थीले बताए । 'सुत्केरीको रगत बगेर मृत्यु भएका घटना छन्,' उनले भने, 'जिम्मेवार पुरुष साथ नहुँदा समयमा रगत खोज्न सकिएन, यसैले पुरुष अनिवार्य गरेका हौं ।' यो निर्णयले महिलाको प्रजनन दरमा सुधार आउनेछ, महिला उत्थान समाजकी अध्यक्ष कृष्णा बिष्टले बताइन् । उनले भनिन्, 'पुरुष र महिलाले दुवैको पीडा बुझेमा हिंसाका घटनामा पनि कमी आउनेछ ।'
 जिल्ला अस्पतालसहित ५० स्वास्थ्य संस्थामा सुत्केरी गराउने व्यवस्था छ ।
ग्रामीण क्षेत्रमा सुत्केरीलाई नछुने चलन छ । गर्भवती भएदेखि नै श्रीमान्को नजिक नबस्नुपर्ने कतिपय ठाउँमा परम्परागत मान्यता रहेको
छ । सुत्केरी गराउन पनि गोठमा राख्ने चलन थियो । पछिल्लो समय चेतना विस्तार र सुत्केरी गर्भ जाँच गराएबापत दिने सरकारी प्रोत्साहन रकमले संस्थामा सुत्केरी हुने महिलाको संख्या बढेको छ । स्वास्थ्य केन्द्रमा पुगेर सुत्केरी हुनेहरूको संख्या दुई वर्षमै १४ प्रतिशतबाट ३२ प्रतिशत पुगेको छ । जिल्लामा यो वर्ष ७ हजार ८ सय गर्भवती महिलाको तथ्यांक छ ।
जिल्लामा नियमित रक्तसञ्चार केन्द्रको व्यवस्था छैन । रेडक्रस बैतडी र जिल्ला अस्पतालले संयुक्त रूपमा आकस्मिक व्यवस्था गरेको
छ । तर, समयमा रक्तदाता नपाउने समस्या छ । प्रहरी र नेपाली
सेनाले मात्रै बढीजसो रक्तदान गर्दै आएका छन् ।

0 comments:

Post a Comment