काठमाडौ, फाल्गुन २१ - ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले ५ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने आधार तयार गरिने बताएकी
छन् । उनले मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी उज्यालो नेपाल भन्ने नारासहित यस्तो घोषणा गरेकी हुन् ।
'यो सरकारको कति रहला म भन्न सक्दिनँ । तर ५ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने आधार तयार पार्छु,' उनले भनिन्, 'त्यसका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण, चुहावट नियन्त्रण र मर्मत सम्भारको कार्य गर्छु । अब लोडसेडिङ बढ्दैन ।' उनले मन्त्रीका रूपमा दोस्रो प्राथमिकता थन्किएका विधेयक पारित गर्नु र तेस्रो प्राथमिकता लाइसेन्स ओगट्नबाट रोक्ने बताइन् । 'राजनीतिक सहमति गरी कुनै पनि अवरोध आउन नदिनेमा मेरो जोड रहनेछ,' उनले भनिन् ।
उनले जलविद्युत्का सम्बन्धमा भइरहेको अध्ययन चैत पहिलो सातासम्म सकिने र त्यसपछि काम सुरु गर्ने बताइन् । 'लोडसेडिङ अन्त्य नयाँ डिजेल प्लान्ट ल्याउने योजना तत्काल छैन,' उनले प्रस्ट पारिन्, 'विभागीय प्रमुखलगायत पदाधिकारीलाई फेर्ने योजना पनि तत्काल छैन ।' उनले पदभार ग्रहण गरेलगत्तै लोडसेडिङ घटाउन डिजेल प्लान्टबारे पनि अध्ययन गर्न सकिने भनाइ मात्रै राखेको प्रस्ट्याइन् ।
ऊर्जा सचिव विश्वप्रकाश पण्डितले डलरमा विद्युत् खरिद सम्झौता नगर्दा विदेशी लगानी नआउने बताए । तर त्यसले निम्त्याउने जोखिम कम गर्न मुद्रा विनिमय दर परिवर्तनको जोखिमबाट बच्न उपाय भने निकाल्नुपर्ने बताए ।
0 comments:
Post a Comment