Sunday, March 9, 2014

एमाओवादीका ५८ नेताविरुद्ध उजुरी


२६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका ५८ जना नेताविरुद्ध संविधानसभा निर्वाचनमा पार्टी उम्मेद्वारलाई अन्तर्घात गरेको भन्दै उजुरी परेको छ । संविधानसभा निर्वाचनमा केन्द्रले उठाएका प्रत्यक्षतर्फका उम्मेद्वारविरुद्ध स्थानीयदेखि केन्द्रीय नेतासम्मले अन्तर्घात गरेको भन्दै उजुरी परेको हो । उक्त उजुरीका विषयमा माओवादीले आन्तरिक रुपमा छानविन गरिरहेको छ ।
गत केन्दि्रय समिति बैठकमा आफ्नो पार्टी भित्रबाट अन्तर्घात भएको भन्दै व्यापक गुनासो आएपछि एमाओवादीले अन्तर्घातबारे छानविन गर्न हरिबोल गजुरेलको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । फागुन मसान्तसम्म केन्दि्रय कार्यालयमा प्रतिवेदन बुझाउने तयारीका साथ यो समितिले काम गरिरहेको छ ।
‘संविधानसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै अहिलेसम्म ५८ जना नेता विरुद्ध उजुरी परेको छ,’ समिति सदस्य विश्वनाथ साहले भने, ‘यसरी उजुरी परेकामा केन्द्रीयदेखि स्थानीय नेतासम्म हेका छन् ।’ तर साहले उजुरी परेका नेताहरुको नाम भने सार्वजनिक गर्न नचाहेको नागरिक दैनिकमा खबर छ । उनका अनुसार पहाडी जिल्ला भन्दा तराईका जिल्लाबाट अन्तर्घात भएको भन्दै समितिमा बढी नै उजुरी परेका छन् । त्यसमा पनि सप्तरीदेखि कपिलवस्तु जिल्ला सम्मका तराईका जिल्लाबाट उजुरी तुलनात्मक रुपमा बढी आएका छन् ।
अर्का सदस्य नवराज सुवेदीका अनुसार समितिमा उजुरी परेका नेतासँग स्पष्टीकरण लिने र उजुरीकर्तासँग सोधपुछ गर्ने काम यतिखेर समितिले गरिरहेको छ ।


0 comments:

Post a Comment