२१ फागुन, काठमाडौं । एसएलसीदेखि विश्वविद्यालय तहसम्म गेसपेपर बिक्री–वितरण गर्न पाइँदैन । तर, एसएलसी परीक्षा नजिकिँदै जाँदा प्रतिबन्धित गेसपेपरको बिक्री–वितरण भने तीव्र रूपमा बढ्दो छ । खुलेआम यस्तो गैरकानुनी धन्दा अघि बढिरहँदा पनि कारबाही गर्ने निकाय भने मौन छ । यो वर्ष आगामी ६ चैतदेखि एसएलसी परीक्षा हुँदै छ ।
एसएलसी परीक्षा नजिकिँदै जाँदा काठमाडौं उपत्यकासहित मुलुकभर हरेक विषयका गेसपेपरको बिक्री बढिरहेको छ । प्रश्नको उत्तर, विगतका परीक्षाका प्रश्न र तिनको जवाफ, सम्भावित प्रश्न र जवाफ सरल भाषा र सानो आकारमा पाइने भएकाले पनि गेसपेपरको बिक्री–वितरण बढेको राजधानी दैनिकमा खबर छ । गेसपेपरले विद्यार्थीलाई सबै कोर्स पढ्न अल्छी बनाउने, विद्यार्थीलाई एकोहोरो बाटोमा हिँडाउने, परीक्षा हलमै परीक्षार्थीले गेसपेपर लैजाने प्रवृत्ति बढेकाले सरकारले त्यसमा प्रतिबन्ध लगाएको थियो । शिक्षा मन्त्रालयले एक वर्षअघि मात्र पुस्तक प्रकाशन गृहले गेसपेपर छपाइ र बिक्री–वितरण गर्न नपाउने निर्देशिका जारी गरेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै पुस्तक प्रकाशन गृहले गेसपेपर प्रकाशन गर्दै आएका छन् ।
अधिकांश प्रकाशन गृहले गेसपेपरको सट्टा ‘स्टडी बुक’ र केहीले गेसपेपर नाम राखेर प्रकाशन गरेका छन् । निमा पुस्तक प्रकाशन, शिक्षा परीक्षा सामग्री केन्द्र, कोसेली प्रकाशनलगायतका प्रकाशन गृहले १० कक्षादेखि विश्वविद्यालय तहसम्मको गेसपेपर विभिन्न नाममा प्रकाशन गर्दै आएका छन् । बाहिरी कभर परिमार्जन गरिएको भए पनि भित्री पाठ्यक्रम भने गेसको नै रहेको छ ।
पूर्ण प्रतिबन्धित गेसपेपर बजारमा विभिन्न नामबाट बिक्री वितरण हुँदा प्रकाशन गृह र बिक्रेतामाथि कुनै कारबाही हुन नसकेको नेपाल पुस्तक व्यवसायी महासंघका उपाध्यक्ष प्रभात सुवेदीले बताए ।
0 comments:
Post a Comment