२१ फागुन, काठमाडौं । १५ तले अत्याधुनिक भूकम्पप्रतिरोधक भवन । वरिपरि हरियालीसहितको खुल्ला ठाउँ । एक हजार ५ सय शय्या क्षमता । अत्याधुनिक उपकरण । सामान्य र विशेषज्ञ उपचार सेवा । अनुसन्धान केन्द्र । दुईतले भूमिगत पार्किङ ।
यो कुनै विदेशी सुविधासम्पन्न अस्पताल परिसरको चिनारी होइन, मुलुककै जेठो, ठूलो र सर्वसाधारणको सर्वाधिक पहुँच राख्ने राजधानीस्थित वीर अस्पतालको पाँच वर्ष पछिको आंकलन चित्र हो ।
सरकारले आगामी पाँच वर्षभित्र वीर अस्पताललाई भौतिक निर्माण, क्षमता तथा सेवा विस्तार गरी अत्याधुनिक, वृहत र सुविधासम्पन्न बनाउने गुरु योजना तयार पारेको छ ।
विस्तारित वीरको भवन नै १५ तले हुनेछ भने क्षमता बढाएर एक हजार ५ सय शय्या पुर्याइने छ । यसका लागि गुरुयोजना तयार पारिसकिएको नागरिक दैनिकमा खबर छ ।
एक सय २६ वर्ष लामो इतिहास बोकेको केन्द्रीय रेफरल अस्पताल वीरको क्षमता अहिले जम्मा ४ सय ९८ शय्याको छ । गुरुयोजना अनुसार पाँच वर्षमा १५ तले अत्याधुनिक भवनमा ९ सय शय्या थपिनेछ । वीर अस्पताल विस्तार गुरुयोजनाअनुसार अस्पतालको मुख्य भवनबाट उत्तरतर्फ -हाल पार्किङ, नर्सिङ क्याम्पस रहेको) १७ रोपनी १० आना जग्गामा नयाँ भवन निर्माण गर्न लागिएको हो ।
अस्पतालका निर्देशक डा. बुलन्द थापाका अनुसार हाल पार्किङ, नर्सिङ क्याम्पस र कर्मचारी क्वार्टर भवन रहेका क्षेत्रका सबै संरचना भत्काइने छ । गुरुयोजनाअनुसार वीरको नयाँ भवनमा दुई तला भूमिगत -अन्डरग्राउन्ड) पार्किङ रहनेछ भने १३ तलामा अस्पतालका सामान्यदेखि विशिष्टसम्म विभिन्न विभाग तथा सेवा रहनेछन् ।
0 comments:
Post a Comment