Tuesday, March 4, 2014

रमेश खरेलले समाएका गुन्डा धरौटी लिँदै छोड्दै


२१ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर हनुमानढोकामा एसएसपी रमेश खरेललाई भेट्न गएका ‘बले’ भन्ने बलराम सापकोटालाई त्यहींबाट ‘खोरमा हाल’ भन्दै पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाइयो। २४ दिनसम्म हिरासतमा राखिए पनि प्रमाण जुटाउन नसकेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार तीन हजार रुपैयाँ धरौटी लिएर सापकोटालाई छोडिदियो।
Ramesh-kharelक्यासिनोमा लगानी गर्ने, धम्की दिएर पैसा उठाउने, गुन्डागर्दी गर्नेजस्ता अभियोग सार्वजनिक गरिए पनि सापकोटाविरुद्ध उजुरी दिन कोही आएन। महाराजगन्जमा रहेर आफ्नो गतिविधि गर्ने चक्रे मिलनका भाइ तेजेन्द्र गुरुङ र उनकै समूहका दीपक तालुसमेत तीन हजार धरौटी तिरेर सोमबारै छुटे।
महानगरीय प्रहरी वृत्त महाराजगन्जले तेजेन्द्र गुरुङलाई पक्राउ गर्दा उनीमाथि हाउजिङ तथा अन्य व्यवसायीलाई धम्क्याएर पैसा असुल्ने गरेको अभियोग लगाइएको थियो। तर पुष्टि गर्न एउटा पनि उजुरी नपरेपछि प्रहरीले सार्वजनिक अपराधमै मुद्दा चलायो। जिल्ला प्रशासन कार्यालयले धरौटीमा छोडिदियो।
नाम चलेका ‘गुन्डा नाइके’ मध्ये दीपक मनांगे सार्वजनिक अपराध सजायअन्तर्गत प्रहरी हिरासतमा छन्। इचंगुनारायणमा भएको एउटा कार्यक्रममा खरेलसँगै फोटो खिचाएकै भरमा पक्राउ गरिएका ‘बाघे’ भन्ने शुक्रबहादुर तामाङ र सीतापाइलामा गुन्डागर्दी गरेको अभियोगमा समीरमानसिंह बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूविरुद्ध पनि कुनै उजुरी नपरेपछि सार्वजनिक अपराध सजायअन्तर्गत म्याद थप गरेर थुनामा राखिएको खबर छ ।
‘गुन्डा अपरेसन’ का नाममा एसएसपी खरेलले एक महिनामा ७२ जनालाई पक्राउ गरे। पक्राउ परेकामध्ये केही नाम चलेका ‘गुन्डा नाइके’ थिए भने कोही सर्वसाधारण। तीमध्ये २५ जनालाई कुनै आपराधिक क्रियाकलापमा संलग्न भएको प्रमाण नभेटेपछि जिल्ला प्रशासन कार्यालयले सामान्य धरौटीमा छाडिसकेको छ।
‘गुन्डा’ भन्दै पक्राउ गरिएकाविरुद्ध कोही पनि जाहेरी दिन नआएपछि प्रहरीले आफूखुसी फाइल बनाएर जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधमा मुद्दा दायर गरिरहेको छ। प्रहरीले कुनै मुद्दा नपाएपछि यस्तो ऐनअन्तर्गत मुद्दा दर्ता गर्छ।
‘एसएसपी खरेलले सस्तो लोकप्रियताका नाममा प्रमाण नभई गुन्डा भन्दै जोसुकैलाई पक्राउ गरे। अहिले भटाभट छुटिरहेका छन्’, प्रहरी मुख्यालयमा भएको बैठकमा समेत वरिष्ठ अधिकृतले यस्तो गुनासो गरेका थिए।
पक्राउ परेका ७२ जनामध्ये २५ जना धरौटी तिरेर छुटे भने दुईजना धरौटी बुझाउन नसकेर कारागारमा, दुईजना पुर्पक्षका लागि कारागारमा, ६ जनामाथि मुद्दा नचलाई अनुसन्धान र बाँकी ३७ जनामाथि सार्वजनिक अपराधमै अनुसन्धान भइरहेको परिसरले जनाएको छ। प्रमाणविहीन जथाभाबी पक्राउ गर्दा चर्को आलोचना भएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समेत खरेललाई ‘पहिला प्रमाण संकलन गरेर मात्रै पक्राउ गर्नू’ भन्ने निर्देशन दिएका छन्।
खरेलले गुन्डाका नाइके भनेर चिनिने केहीलाई पक्राउ गर्दा उनीहरूसँग निकट भएर काम गर्नेको मनोबल गिर्ने र अपराध नियन्त्रण हुने भन्दै अपरेसन चलाउन महानिरीक्षक अर्यालसँग स्वीकृति लिएका थिए।
एसएसपी खरेलले भने छोडिएका गुन्डामाथि पनि निगरानी भइरहेको बताए। ‘गुन्डा ऐन थन्किएर बसेको अवस्था छ। केही प्रमाण नभेटिएपछि सार्वजनिक अपराधमै मुद्दा चलाउँदैछौं’, उनले भने।

0 comments:

Post a Comment