'महिलाहरुको हित गर्ने पार्टी एमाओवादी भएको दाबी'
१ बैसाख, काठमाडौं । नई प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईले गाउँ र सहर दुबै ठाउँमा फेरि भाटे कारवाही अभियान चलाउन प्रचण्डलाई सुझाव दिएकी छन् । उनले एकीकृत नेकपा माओवादी महिलाको हित गर्ने पार्टी रहेको दाबीसमेत गरेकी छन् ।
एमाओवादी अध्यक्षसमेत सहभागी रहेको साहित्यिक कार्यक्रममा प्रसाईले आफू विगतमा राजावादी रहेको तर, एमाओवादीले सञ्चालन गरेको भाटा कारवाही राम्रो लागेको प्रचण्डलाई सुनाइन् । उनले भनिन्- ‘मलाई लाग्छ माओवादीको भाटा कारवाही अत्यन्त प्रभावकारी हुन्छ, यस्तो भाटा कारवाही फेरि चलाउनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु ।’
एमाओवादी पार्टी र अध्यक्ष प्रचण्डको निकै लामो प्रशंसा गर्दै प्रसाईले त्यस्तो भाटा कारवाही गाउँमा मात्रै नभएर सहरमा पनि चलाउनुपर्ने बताइन् । अदालतबाट महिलाले चाँडो न्याय नपाउने भएकाले माओवादीको भाटे कारवाही प्रभावकारी हुने उनले बताइन् ।
महिलामाथि अन्याय गर्नेहरुमाथि भाटा कारवाही चलाउने पर्ने भन्दै प्रसाईले महिलालाई पुरुषसरह अधिकार र सम्मान प्रदान गर्ने काम एमाओवादीले गरेको दाबी गरिन् ।
प्रसाईले नेपाल प्रज्ञा प्रतिष्ठानलाई राजनीतिक भागवण्डाबाट मुक्त राख्न र प्राज्ञलाई देख्दा प्रधानमन्त्री र राष्ट्रपतिले समेत उठेर नमस्कार गर्नुपर्ने अवस्थामा पुर्याउन एमाओवादी अध्यक्ष प्रचण्डसँग आग्रह गरिन् । जवाफमा प्रचण्डले प्रसाईको सल्लाह गम्भीर रहेको बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालका गोरखापत्र संस्थानकी कार्यकारी अध्यक्ष बनेकी प्रसाई पशुपति क्याम्पसमा प्राध्यापन गर्छिन् ।






0 comments:
Post a Comment